काठमाडौँ, २२ पौष – निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदले जोड दिएको छ । पाँचौं निर्यात दिवसको अवसरमा बुधबार राजधानीमा परिषदद्वारा आयोजित कार्यक्रम समारोह माझ परिषदका तर्फबाट अध्यक्ष हरिबहादुर कार्कीले सो कुरा राखेका हुन ।
अध्यक्ष कार्कीले उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने र आपसी समन्वयका साथ हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिदै निर्यात परिषद्ले सोही भावना अनुरुप काम गर्दै आएको बताए । अध्यक्ष कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे ।
निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निजी क्षेत्र र सरकार मिल्नुको विकल्प नरहेको उनले बताए । सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले कुनैपनि वस्तुको बाह्य बजार खोज्नु भन्दा पहिला आन्तरिक बजारमा प्रवद्र्धन गरिनुपर्ने बताए । त्यसका लागि सबै नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानि बसाल्न विभिन्न एक्सपो लगायतका प्रबर्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको उनले औंल्याए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाको कारणबाट धारासायी बनेको निर्यात क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै उद्योगी व्यवसायीहरुले एकैसाथ काम गर्नुपर्नेमा जोड दिए ।
यस्तै महासंघको तर्फबाट निर्यात प्रवद्र्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । पाचौँ निर्यात दिवस मनाउने क्रममा नेपाल निर्यात परिषदले बुधबार प्रभातफेरी कार्यक्रम र मुल समारोह कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग वाणिज्य महासंघक उपाध्यक्षद्व्य दिनेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । पाचौँ निर्यात दिवसको अवसरमा निर्यातकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।
सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७६-०७७ मा नेपालबाट कुल ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको निकासी भएको थियो भने आर्थिक वर्ष २०७७-०७८ को पाँच महिना अवधीमा कुल निकासी ५० अर्ब ५५ करोड ६ लाख ८ हजार मूल्य बराबरको छ । नेपालबाट निर्यात हुने मूख्य वस्तुहरुमा पाम आयल, उनी, गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज लगायत रहेका छन् ।
FACEBOOK COMMENTS