काठमाडौं,फागुन १२- चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म नेपालको व्यापार सुधारतर्फ गइरहेको देखिएको छ ।
भन्सार विभागको अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ । सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको पहिलो सात महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।
गएको साउनदेखि माघसम्म ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । तर पुस महिनाको तुलनामा भने माघमा निर्यात घटेको छ ।
पुसमा निर्यात २६ दशमलव १३ प्रतिशतले बढेको थियो । चालू आर्थिक बर्षका सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
विशेषगरी भारतले नेपालबाट पाम आयल लैजान प्रतिबन्ध लगाएपछि नेपालको समग्र निर्यात घटेको हो । पुसदेखि माघसम्म पाम आयल निर्यात नै भएको छैन । यस्तै आयातको दर पनि बढेको छ । पुस महिनासम्म आयात दर ४ दशमलव शून्य ४ प्रतिशतले घटेकोमा माघ महिनामा यो ३ दशमलव ५६ प्रतिशतले मात्रै घटेको छ ।
सात महिनामा नेपालको व्यापार घाटा पाँच दशमलव ३३ प्रतिशतले घटेको छ । चालू आर्थिक बर्षका सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
गत वर्ष देखि नै सरकारले अनुत्पादक र विलाशीताका वस्तुको आयातमा नीतिगत कडाइ गरेको छ । त्यसको सकारात्मक असर व्यापार घाटामा परेको जानकारहरु बताउँछन् ।
FACEBOOK COMMENTS