काठमाडौं, पुस १६- चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै मुलुकको व्यापार घाटा सुधारिदै गएको छ। आर्थिक वर्षको सुरुवातदेखि नै आयात घटेर निर्यात बढ्दै जाँदा मुलुकको अर्थतन्त्र नै सुधारोन्मुख दिशातर्फ अघि बढेको देखिएको छ।
गत वर्षको पहिलो पाँच महिनाको तुलनामा यस वर्षको पाँच महिनामा विदेशबाट आयात हुने वस्तुको परिणाम ४ दशमलव २४ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।
विभागले बुधबार सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ५ खर्ब ८ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको यही अवधिमा ६ खर्ब ६ अर्ब ९९ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
कात्तिक र मंसिरमा बीचमा आयात घट्ने दरमा भने केही कमी आएको छ । गत कात्तिकमा अघिल्लो वर्षको तुलनामा करिब ७ प्रतिशतले आयात घटेकोमा मंसिरमा यो अनुपात ४ प्रतिशतभन्दा केही बढीमात्रै देखिएको छ ।
डिजेलसहितका पेट्रोलियम पदार्थ, एमएस बिलेटसहित आइरन एन्ड स्टिलका उत्पादन, वायुसेवा र तिनका उपकरण, सवारीसाधन, अन्न, केमिकलसहितका उत्पादन घटेकाले समग्र आयात पनि घट्ने क्रम देखिएको हो ।
यसको ठिकविपरीत नेपालबाट हुने वस्तु निर्यातमा भने उत्साहजनक वृद्धि देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ५ महिनामा नेपालबाट हुने वस्तु निर्यात गत वर्षको समान अवधिभन्दा झन्डै २७ प्रतिशतले बढेर ४६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
गत वर्षको मंसिर मसान्तसम्म ३७ अर्ब ५० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो । निर्यात बढ्नुमा कुनै औद्योगिक वस्तु र स्वदेशी कच्चा पदार्थमा आधारित वस्तुको भने कुनै भूमिका छैन । विदेशबाट आयात गरिने कच्चा पाम तेललाई यहाँ थोरैमात्र प्रशोधन गरेर निर्यात गर्न थालिएपछि त्यसले निर्यात उचालेको हो ।
यस वर्ष पाम आयल, सोयाबिन आयललगायतका उत्पादनको निर्यात व्यापक रूपमा बढेका कारण समग्र निर्यात पनि बढेको देखिएको हो ।
साढे ११ अर्बको पाम आयल निर्यात
चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ११ अर्ब ५२ करोड रुपैयाँको पाम आयल र २७ लाख रुपैयाँको कच्चा पाम पनि नेपालबाट निर्यात भएको भन्सार विभागको विवरणबाट देखिन्छ ।
पाम नेपालमा उत्पादन हुँदैन । मंसिर मसान्तसम्म करिब १० अर्ब रुपैयाँको कच्चा पाम तेल इन्डोनेसिया, मलेसिया, सिंगापुर, पपुवा न्यूगिनी र थाइल्यान्डबाट आयात गरेर यहाँ प्रशोधन गरी भारततर्फ निर्यात गरेको हो ।
आयात घट्दै गएको र निर्यात बढ्दै गएपछि देशको व्यापार घाटामा ६ दशमलव ३० प्रतिशतले कमी आइ ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिएको छ ।
FACEBOOK COMMENTS