काठमाडौं, मंसिर २१ – निर्वाचनलगत्तै नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधनको तयारी तीव्र भएको छ । अध्यक्ष शेखर गोल्छाले चुनावअघि नै आफू अध्यक्ष भएको ६ देखि ९ महिनामा विधान संशोधन गर्ने घोषणा गरेका थिए । सोहीअनुसार महासंघले विधान संशोधनको तयारी तीव्र बनाएको हो । सकेसम्म आगामी चैतमा हुने साधारणसभामा, प्राविधिक रूपमा त्यो सम्भव नभए विशेष साधारणसभा बोलाएर पनि विधान संशोधन गर्ने तयारी महासंघको छ । ‘महासंघको विधान संशोधन गर्नैपर्नेछ, देशभरका सदस्यहरूले पनि त्यो महसुस गर्नुभएको छ,’ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘सबै सदस्यसँग छलफल गरेर राय–सुझाब संकलन गरेर विधान संशोधन गर्नेछौँ ।’
आफूले विधान संशोधनलाई कुनै पनि हालतमा राजनीतिक हतियार नबनाउने पनि गोल्छाले बताए । ‘अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने गरी संशोधन हुँदा पनि चन्द्र ढकाल अध्यक्ष बनेपछि लागू हुने गरी संशोधन हुन्छ,’ गोल्छाले भने । महासंघका पदाधिकारीहरूको अनौपचारिक बैठक तथा पूर्वअध्यक्षहरूसँगको भेटघाटमा समेत विधान संशोधनलाई अघि बढाउने कुरा भएको जानकारी उनले दिए । ‘कसैलाई बलियो बनाउन वा कमजोर बनाउन वा चुनावी फाइदा लिन होइन, समग्रतामा महासंघलाई बलियो बनाउन विधान संशोधन गर्न लागिएको हो,’ उनले भने ।
खासगरी अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने र कार्यसमितिको कार्यकाल २ वर्षको बनाउने गरी विधान संशोधनको तयारी छ । ‘चन्द्र ढकालपछिको कार्यसमितिको निर्वाचन प्रत्यक्ष रूपमा अध्यक्षको नै गर्ने गरी विधान संशोधनको तयारी छ,’ महासंघका विशिष्ट सदस्य पशुपति मुरारकाले बताए । विगतमा कार्यसमितिको कार्यकाल दुई वर्षकै हुने गरेकोमा २०६४ मा कुशकुमार जोशीको कार्यकालदेखि त्यसलाई तीन वर्षको बनाइएको थियो । त्यसलाई पुनः दुई वर्षमै झार्ने गरी विधान संशोधनको तयारी यसअघि नै पनि भएको थियो । तर, महासंघका तत्कालीन विशिष्ट सदस्य चण्डिराज ढकालले अध्यक्षसमेत हुने गरी वरिष्ठ उपाध्यक्ष निर्वाचित शेखर गोल्छालाई अध्यक्ष बन्नबाट रोक्ने ढंगले यो एजेन्डा अघि बढाएपछि त्यो सफल हुन सकेन । अब विधान संशोधन गर्दा सकेसम्म पूर्ण बनाउने गरी विशेषज्ञहरूलाई नै लेख्न लगाउनुपर्ने मुरारकाले बताए ।
FACEBOOK COMMENTS