काठमाडौं, वैशाख १३ – निषेधाज्ञा अवधिमा सेयरबजार भने बन्द नहुने भएको छ । नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा भए पनि सेयरबजार बन्द नगर्ने जनाएको हो ।
यसअघि भने २०७६ चैत ११ गतेदेखिको लकडाउनमा सेयर बजार बन्द भएको थियो । २०७७ असार १५ गतेदेखि मात्रै सञ्चालनमा आएको थियो । अहिले सम्पूर्ण कारोबार अनलाइनबाट हुने भएकाले सेयरबजार खुला गर्ने बोर्डको भनाइ छ ।
यसैबीच कोरोना भाइरसको दोस्रो लहर बढेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सुरक्षाका आवश्यक उपायहरु अपनाउन धितोपत्र व्यवसायीलाई निर्देशन दिएको छ ।
आज सोमबार एक विज्ञप्ति जारी गर्दै नेप्सेले सकेसम्म सबै कामहरु भौतिक रुपमा उपस्थित नभई विद्युतीय प्रणालीमार्फत गर्न अनुरोध गरेको छ । नेप्सेले शेयर कारोबारपछि किन्नेलाई समयमै खातामा शेयर र विक्रेतालाई निर्धारित समयमा पैसा बैंक खातामा पठाइदिन भनेको छ ।
साथै, नेप्सेमा पठाउनुपर्ने कागजपत्रहरु सकेसम्म ई–मेल वा अन्य विद्युतीय माध्यमबाट गर्न भनिएको छ । ब्रोकर कार्यालयमा मास्क, सेनिटाइजर, ज्वरो नाप्ने यन्त्रलगायत आवश्यक सामग्री उपलब्ध गराउन पनि विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS