काठमाडौं, जेठ २८ – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार ८४२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार २ वटा गाडी र २ हजार ८४० वटा मोटरसाइकल छन् ।
नियन्त्रणमा लिएका सवारीसाधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५५ हजार २ सय ७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६५० जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६६ हजार १०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ९७६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८० वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १९४ जनालाई सचेत गराइएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।
FACEBOOK COMMENTS