काठमाडौं, फागुन २४ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय भरतपुर दाङमा सोमबार बेलुका नेकपा एमालेको बोर्ड राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका नेता कार्यकर्ताले पार्टी कार्यालयको नाम परिवर्तन गरी नेकपा एमाले लेखेका हुन् ।
ओली समूहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता र केन्द्रीय सदस्य मेनका पोखरेलको प्रमुख आथित्यमा पार्टी कार्यालयको बोर्ड विधिवत रुपमै परिवर्तन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए । त्यस क्रममा उनीहरुले नेकपा एमाले जिन्दावाद भन्दै नाराबाजीसमेत गरेका थिए ।
पार्टी कार्यालयको बोर्ड परिवर्तनसँगै उनीहरुले कार्यालयमा मैनबत्तीसमेत बालेर खुसियाली मनाएका थिए । त्यसक्रममा ‘सैपनि एमाले, मैपनि एमाले’ भन्ने गीत बजाएर नाचगान गरी रमाइलो गरिएको थियो । नाम परिवर्तनपछि नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद भन्ने नारा पनि लगाइएको थियो । सर्वोच्च अदालतको आइतबारको फैसलाअनुरुप आफूहरुले पार्टी कार्यालयको नाम परिवर्तन गरेको बस्नेतले जानकारी दिए ।
उनले घोराहीस्थित जिल्ला पार्टी कार्यालय, तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालय र लमहीस्थित क्षेत्रीय पार्टी कार्यालयलगायत सबै सम्पत्ति अहिले पनि नेकपा एमालेकै नाममा रहेको हुँदा आफ्नो कार्यालयको नाम परिवर्तन गरेको जानकारी दिए ।
तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालयमा मर्मत सम्भारको काम चलिरहेको हुँदा त्यहाँ मंगलबार बोर्ड परिवर्तन गर्ने कि अलि पछि गर्ने भन्नेबारेमा टुंगो लाग्न बाँकी रहेको बस्नेतले जानकारी दिए ।
FACEBOOK COMMENTS