सुर्खेत- नेकपा विभाजनको बाछिटा मध्यपश्चिमाञ्चल विश्वविद्यालयसम्म पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनसंगै यसको असर राजनीतिक क्षेत्रमा मात्र नभई शिक्षा क्षेत्रमा समेत देखा परेको छ । अझ रोचक त के छ भने दुई समुहमा विभाजित भएको नेकपाका नेताहरुले आफु इतरकालाई शब्द वाणले खुईल्याउने मात्र नभई सत्तोसराप गर्दै आईरहेको अवस्था माझ प्राज्ञहरुले सचेत गराउनु पर्नेमा बोलीमा लोली मिलाउदै त्यस्तै खालको शैली अपनाउन थालेको पाइएको छ । नेकपा विभाजनले उत्पन्न गरेको परिस्थितिका कारण मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहका सल्लाहकार हरिप्रकाश चन्दले त्यस्तै हविगत व्यहोर्नु परेको छ ।
उपकुलपति सिंह के पि ओली निकट मानिन्छन् भने चन्दले देशको हितमा लामो समयदेखि लेख्दै आएपनि राष्ट्रियताको मुद्दामा उनको कतिपय विचार ओलीसंग नै निकट मानिन्थ्यो तरपनि उनि कम्युनिष्ट एक हुनुपर्छ र एकले अर्कालाई समाप्त पार्ने भन्दा पनि मेलमिलापका साथ अघि बढ्नुपर्छ भन्ने मान्यता राख्थे । यसै माझ चन्दले राजनीतिक परिस्थिती बारे कटाक्ष गर्दै एक सामाजिक संजालमा केहि स्टाटस लेख्न पुगे । चन्द भन्छन ‘मैले त कसैको पक्ष नलिई लेखेको थिए, तर मलाई त प्रचण्ड पक्षधरको पक्षमा लेख्यो भन्ने आरोप लागाइयो । म यो देशको सचेत नागरिक हुँ, म सकृय राजनीतिमा छैन, शैक्षिक क्षेत्रमा लाग्दै गर्दा मैले कसै प्रति पुर्वाग्रही बन्न मिल्दैन्न भन्नेमा म उत्तिकै सचेत पनि छु र थिए, यद्यपी म माथि कपोकल्पित रुपमा लाण्छना लागाइयो, धेरै दुःखी तुल्याएको छ’ ।
उनी थप्दै भन्छन् ‘मैले अघिपछि पनि स्टाटस लेख्थे, समसामयिक घटना प्रति मैले चासो लिदै सामान्य टिप्पणीहरु गर्ने काम विगत देखी नै गर्ने गर्थे, माथि मन मिलिन्जेल सबै ठीक थियो तर माथि नै मन फाटे पछि रातारात आफ्नोलाई पनि पराई देख्न थालियो’ । भावुक हुँदै चन्दले भने ‘मलाई त विश्वविद्यालयको हितको लागि लगिएको थियो नि, भागवण्डा मिलाएर लगिएको त थिएन । प्राज्ञलाई पनि सल्लाह दिने काम चानचुने थिएन, मैले सक्दो गरे पनि तर पार्टीको विभाजनसँगै समस्या देखा पर्यो‘ ।
आफुले राजिनामा दिएको घोषणा गर्दागर्दै पनि कुनै मौका नै नदिई पदमुक्त गरिएको भन्ने भान पार्न नाटक मंचन भएको भन्दै उनले रोष व्यक्त गरे । उनी भन्छन् ‘उत्पन्न असहज परिस्थितीले काम गर्ने वातावरण नभएपछि गत पुष १७ गते उपकुलपतिका नाममा एक पत्र लेखेर स्वेच्छाले आफुले पदत्याग गरेको जानकारी गराएँ तर अपसोच मलाई त पदमुक्त गर्ने निर्णय पो लिईएछ, मैले म अब राजिनामा गर्छु भन्दा अडकाएर राखियो अहिले आएर हुर्मत लिने काम भयो, प्राज्ञहरुले मिलाएर लानुपर्नेमा अनर्गल खोट देखाएर हिलो छयाप्ने काम भयो’ । चन्द भन्छन् ‘राजनीति विश्वविद्यालयको मामिला नभएको र यसलाई राजनितिबाट अलग गर्नुपर्नेमा मेरो दायित्व मलाई थाहा छ, सामाजिक सञ्जालमा व्यक्त गरेको स्वतन्त्र बिचारको राजनीतिकरणकै कारण सल्लाहाकारबाट पदत्यागको मनस्थिती बनाई आफ्नो विचार राखिसकेपछीको अवस्थामा हठातमा अप्रिय निर्णय लिईएकाले दु:खी बनाएको छ’ ।
पदत्याग गरिसकेपछि आफ्नो गल्तीको ढाकछोप गर्न लगाइने लाञ्छनाले विश्वविद्यालयकै गरिमा समाप्त हुने समेत चन्द बताउछँन् । आफ्नो स्वतन्त्र विचार राख्ने जो कोही पनि यसरी नै डामिदै र अपमानित हुँदै जानुपर्ने अवस्था कहिले सम्म ? यो हाम्रो प्रश्न छ । अझ विश्वविद्यालय जस्तो गरिमामय संस्थामा यसरी राजनीतिकरण हुन पक्कै पनि शोभनिय बिषय होईन् । चन्दको स्टाटसलाई विवादको घेरामा तान्नुपर्ने र बखेडा झिक्नुपर्ने पनि केही देखिन्न । यदि सोही नै कारण त्यस्तो गरिएको हो भने अब उप्रान्त प्राज्ञको पारीभाषा बदल्नु नै वेश हुनेछ । चेतना ।
