काठमाडौं, वैशाख १० – नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली आफैं पार्टी फुटाएर जान लागेको दाबी गरेका छन् । आज शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता रावलले एमालेबाट आफूहरू नभई ओली नै जान लागेको दाबी गरेका हुन् ।
‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’ रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौं ।’ आफूहरू एमालेको निर्वाचित पदाधिकारी भएको बताउँदै नेता रावलले आफूहरू कुनै हालतमा एमालेबाट नभाग्ने जिकिर गरेका छन् । पार्टीको नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरू पनि पदाधिकारी भएको उनको भनाइ छ ।
रावलले भने, ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’ कुनै व्यक्तिले हटाउँदैमा आफूहरूको सांसद पद नजाने जिकिर उनको छ । उनले सांसद पद जाने गरी विधिविधानविपरीत कार्य नगरेकाले अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गर्नै नसक्ने तर्क समेत गरेका छन् ।
‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन,’ ओलीलाई चुनौती दिँदै रावलले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रूपमा विधि तोकेको छ भन्ने हेक्का होस् ।’ विधि र विधान विपरीत कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप उनको छ ।
सांसद पदबाट आफूहरू हट्नका लागि राजीनामा दिएको, दल त्याग गरेको, ह्वीप उल्लंघन गरेको हुनुपर्ने बताउँदै उनले उल्लेखित कुनै पनि काम नगरेको उनको दाबी छ । आफूहरूले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको बताउँदै उनले अलग पार्टी चलाएको र सञ्चालन नगरेको पनि स्पष्ट पारेका छन् ।
FACEBOOK COMMENTS