काठमाडौं, २९ फागुन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही मुठ्ठीभर व्यक्तिहरुको आर्थिक स्तर माथि पुग्दैमा मुलुक समृद्धिको बाटोमा अघि बढेको मान्न नसकिने बताएका छन् ।
शनिबार प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भए मात्र सोही आधारमा समृद्धिलाई नाप्न सकिने बताए ।
मानिस हुनुको नाताले चेतनाको स्तर निरन्तर अघि बढेको छ कि छैन भन्ने कुरा प्रमुख भएकोे भन्दै उनले सामाजिक न्याय र चेतना तथा सभ्यताको स्तरमा अन्तर भए त्यसलाई समृद्धि मान्न नसकिने बताए ।
उनले समाज र जनताले नेता पैदा गर्ने भएकाले जनताको चेतनास्तरको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । उनले भने, “नेताहरु भनेको समाज र जनताले पैदा गर्ने कुरा हो । इतिहास र चेतनाको निर्माता जनता हो, नेता होइन । नेता मुख्य होइन, जनता मुख्य हो । जनताको चेतनाको स्तर आम रुपमा कति छ भन्ने कुराले नेता कस्ता जन्मन्छन् भन्ने निर्धारण गर्छ ।”
उनले थपे, “एकथरी मान्छेलाई आदत भयो, नेतालाई गाली गर्ने । त्यो सुनेपछि लुसुन भन्ने महान् कविले भन्नुभएको थियो, ‘जनता नै खराब भएकाले नेता खराब भएका । तपाईंहरु असल हुनु त नेता असल नभई सुख पाउँछ त ?’ नेताहरु जनता र इतिहासले नै पैदा गर्ने हो । जनताले नै संघर्षबाट पैदा हुने नेतृत्वको जिम्मेवारी र आकांक्षा परिपूर्तिका लागि समर्पित र योग्यता राख्छ कि राख्दैन भन्ने नै हो ।”
उनले अब आफूलाई प्रधानमन्त्री बन्ने हतारो नभएको बताए । त्यसको लागि आफू नलागेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS