नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले छेङदु एसोसिएसन फर फोरेन ट्रेड एण्ड इकोनोमिक कोअपरेशनले आयोजना गरेको दक्षिण एशिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद कार्यक्रमलाई चीनको छेङदुमा संवोधन गर्दै नेपालका तर्फबाट संयुक्त लगानीका लागि २८ वटा परियोजना प्रस्ताव पेश गरेका छन् ।
प्रस्तावित परियोजनाहरूमा उर्जा, सिमेन्ट, निर्माण सामग्री, कृषि शिक्षा, अध्ययन अनुसन्धान, पर्यटन, होटल, रिसोर्ट, अफिस सप्लाई , उत्पादनमुलक र मेडिया रहेको महासंघले जनाएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै टोली नेता ढकालले दुई ठूला अर्थतन्त्रको बीचमा रहेको नेपाल, पारवहन आर्थिक केन्द्र बन्ने सम्भावना रहेको भन्दै नेपाल यतिखेर अन्तराष्ट्रिय लगानीका लागि उर्वर क्षेत्र भएको बताए ।
नेपाल सरकार विभिन्न सहुलियत प्याकेज सहितको नीतिगत सुधारका माध्यमबाट वैदेशिक लगानी आकर्षण गर्न लागिपरेको भन्दै उनले नेपाल सरकारसंग नजिकमा रहेर साझेदारी गरीरहेको नेपाली निजी क्षेत्रले द्विपक्षीय तथा वहुपक्षीय व्यापार तथा लगानी आकर्षणका लागि उपयुक्त वातावरण निर्माणमा सहजीकरण गरीरहेको जानकारी गराए ।
नेपालमा लगानी गर्ने चीन सबैभन्दा प्रमुख राष्ट्र भएको भन्दै उनले केन्द्रीय तथ्यांक विभागको पछिल्ला तथ्यांक अनुसार नेपालमा करिव १ हजार ३२३ वटा संयुक्त लगानीका परियोजनाहरू संचालनमा रहेको तथ्यांक पेश गरे ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनले खासगरी अतिकम विकसित र विकासशील देशहरूको आर्थिक विकासमा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै टोली नेता ढकालले चीनले अगाडी सारेको बेल्ट एण्ड रोड इनिशिएटिभको अवधारणाले नेपाल लगायत सार्क सदस्य राष्ट्रहरू समेत गरी विश्वका ६० भन्दा बढी देशहरूलाई जमिन, जल र इन्टरनेटका माध्यमबाट जोड्दै आश्चर्यजनक रूपमा आर्थिक अवसरहरू सृजना गर्ने दावी गरे ।
सार्क राष्ट्र र चीनका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरूको सहभागिता रहेको उक्त अन्तराष्ट्रिय कार्यक्रममा महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ र चन्द्र प्रसाद ढकाल, महासंघको कार्यकारिणी समितिका सदस्यहरु दिनेश श्रेष्ठ, अविनास वोहोरा, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, सार्क उवासंघ(नेपाल)का सदस्यहरु सहित १६ सदस्यीय महासंघको प्रतिनिधिमण्डलले भाग लिइरहेको छ ।
FACEBOOK COMMENTS