काठमाडौँ — जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार असार १२ गते देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ ९सन् २०११० को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।
‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको हो,’ विभागका निर्देशक ढुण्डिराज लामिछानेले भने, ‘बसाइँसराइँ, जन्म र मृत्युदरले जनसंख्या घडी निर्धारण गरिन्छ । त्यसैअनुसार देशको जनसंख्या आजबाट तीन करोड नाघेको छ ।’ मध्यजनसंख्या सिद्धान्तअनुसार हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गर्ने गरिन्छ । निर्धारित जनसंख्या सूत्रानुसार दैनिक औसत एक हजारदेखि एघार सय जनाका दरले यो संख्या बढ्दो छ ।
कुनै पनि व्यक्ति अक्सर बसोबास ९६ महिनाभन्दा बढी० गरेको स्थानबाट उसको गणना गर्ने गरिन्छ । ०६८ को तथ्याङ्कमा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ छ । जसमध्ये ५१ दशमलव ५ प्रतिशत महिला छन् । त्यसैगरी पुरुष ४८ दशमलव ५ प्रतिशत छन् । जनसंख्या वृद्धिदर १ दशमल ३५ प्रतिशत रहेको छ । त्यसबाहेक विदेशमा १९ लाख २१ हजार ४ सय ९४ रहेको देखाएको छ । देशभरिमा १२५ जातजाति र १२३ भाषा बोल्ने छन् ।
आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ । जन्मदर घट्दो छ । जनगणना–२०५८ ले वार्षिक जनसंख्या वृद्धिदर २ दशमलव २५ देखाएको थियो भने दश वर्षमा शून्य दशमलव ९ विन्दुले जन्मदर घटेको देखिन्छ ।
विश्लेषकहरुको ठम्याइमा समाजमा चेतनास्तर बढेको छ । पढेलेखेका पुस्ता बढेका छन् । महिलाको शैक्षिक स्तर वृद्धि भइरहेको छ । साक्षरता दर ६५ दशमलव ९ प्रतिशत छ । शिक्षा, रोजगारीका अवसरहरू पाएसँगै एक वा दुई सन्तान जन्माउने र सुखी जीवन बिताउने भन्ने धारणाको विकास भइरहेको छ । सामाजिक चेतनास्तर बढेसँगै ‘दुई सन्तान’को अवधारणाको विकास भएको छ । ‘छोरा होस् या छोरी एकसन्तान भए पुग्छ’ भन्ने पुस्ता पनि छन् । अर्कोतर्फ, छोराको चाहना राख्नेले गर्भमै भ्रुण पहिचान गरेर ‘छोरी’ भएमा गर्भपतन गराउने पनि छन् । यसले गर्दा लैगिक असमानता झन बढ्ने देखिन्छ ।
मृत्युदर पनि उस्तै घटेको छ । अहिलेको तथ्यांकअनुसार सरदर आयु करिब ६७ वर्ष रहेको छ । जसमा महिलाको ६८ वर्ष र पुरुषको आयु ६५ वर्ष छ ।
अघिल्लो दश वर्षको तुलनामा जनसंख्या बढे पनि मुलुकको २७ जिल्लामा जनसंख्या घटेको छ । दश वर्षको अन्तरमा सहरमा बसोबास गर्ने जनसंख्या १३ दशमलव ९ बाट बढेर १७ दशमलव ०७ प्रतिशत पुगेको छ ।
दश वर्षमा काठमाडौं जिल्लाको जनघनत्व ६१ दशमलव २३ प्रतिशतले बढेको थियो भने मनाङको जनघनत्व ३१ दशमलव ८० प्रतिशतले घटेको थियो । कुल भूभागको १७ प्रतिशतमात्र ओगटेको तराईको जनसंख्या चाप ५० दशलमव २७ प्रतिशत छ । जनघनत्व प्रतिवर्गकिलोमिटर १ सय ८० जनसंख्या बसोबास गर्दछन् ।
१९६८ सालदेखि हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणना हुँदै आएको छ । विभागले आउँदो वर्ष १२औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म सम्पन्न गर्ने तयारी गरेको छ ।
घडीको यही सूत्रका आधारमा असार ८ गतेसम्म देशको कुल जनसख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना पुग्ने छ । त्यसमा १ करोड ५६ लाख ४३ हजार ८ सय ५३ महिला हुनेछन् । त्यसैगरी पुरुषको संख्या १ करोड ४७ लाख ३४ हजार २ सय १ जना हुने निर्देशक लामिछानेले बताए ।
FACEBOOK COMMENTS