काठमाण्डौं, साउन १२ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा बढी उडान हुने नेपालगञ्ज विमानस्थलको स्तरोन्नति कार्यअन्तर्गत निर्माण भइरहेको विमान जहाज पार्किङ स्थलको निर्माण कार्य पूरा भएको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले बन्दाबन्दीको समयमा पनि निरन्तर निर्माण कार्य जारी राखिएकाले जहाज पार्किङ स्थल निर्माणको काम पूरा भएको बताउनुभयो ।
उहाँले निर्माणको काम पूरा भइसकेकाले केही समयपछि सो पार्किङ स्थललाई औपचारिक रूपमा सञ्चालनमा ल्याइने बताउनुभयो । प्रमुख ठाकुरका अनुसार काठमाडौँपछि सबैभन्दा बढी उडान हुने नेपालगञ्ज विमानस्थलमा जहाज पार्किङका लागि पर्याप्त स्थल नहुँदा जहाज राख्न निकै समस्या थियो ।
नेपालगञ्ज विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले पार्किङ स्थलकै अभावका कारण धेरैपटक जहाजलाई आकासमै होल्ड गराएर राख्नुपर्ने बाध्यता अब अन्त्य हुने बताउनुभयो ।
उहाँले विमानस्थलमा नियमित उडान सुरु भएपछि पार्किङ स्थलको अभाव हुने भएकाले तयार गरिएको नयाँ पार्किङ स्थललाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले काठमाडौँ–नेपालगञ्ज दिनभरि नै उडान भइरहने तथा पहाडी र हिमाली जिल्लामा बिहान र अपराह्न मात्र उडान गर्नुपर्ने भएकाले विमानस्थलमा जहाज पार्किङ गरेर राख्न निकै समस्या हुने गरेको बताउनुभयो ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार निर्माण गरिएको पार्किङ स्थलमा आठवटा एटीआर ७२ विमानलगायत अन्य साना धेरै जहाज पनि त्यहाँ सहज रूपमा पार्किङ गर्न सकिने छ ।
उक्त पार्किङस्थल निर्माणका लागि २८ करोड ५३ लाख ४० हजार ९४३ रुपियाँमा निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालि मैँजुबहाल काठमाडौँसँग सम्झौता भएको थियो । यसैबीच नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरेर विदेशमा समेत उडान सुरु गराउने उद्देश्यसाथ तयार गरिएको विमानस्थलको ‘मास्टर प्लान’ अनुसार पनि केही काम अगाडि बढेको नागरिक उड्डयन कार्र्यालयले जनाएको छ ।
नेपालगञ्ज विमानस्थलबाट नेपाल एयरलाइन्स, श्री एयर, सौर्य एयर, बुद्ध एयर, तारा र गोमाले काठमाडौँलगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लामा उडान भर्दै आएका छन् । यहाँबाट सङ्घीय राजधानी काठमाडौँबाहेक रुकुमको चौरजहारी र सल्ले, मुगुको ताल्चा, डोल्पा, हुम्ला, जुम्ला र बाजुरामा उडान हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS