काठमाडौं, २४ कात्तिक – नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउने पाउने भएको छ । कोरोना भाइरस महामारीले गर्दा नेपाली खेलकुद गतिविधि प्रभावित भइरहेको बेला स्वास्थ्य मापदण्ड पालना गर्दै आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुँदैछ ।
क्रिएटिभ ह्याण्ड्सको आयोजना तथा क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानको रुपमा स्थापित म्याराथन आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
सरकार र तत्कालीन माओवादी बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।
नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै म्याराथन विजेताले ओलम्पिकमा सहभागिता जनाउन पाउने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।
कोरोना महामारीका कारण एथ्लेटिक्सको ओलम्पिक छनोट हुन नसकेकोले यही म्याराथनलाई छनोटको रुपमा लिन लागिएको हो । नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि ५ वटा संस्करणको सफलतापूर्वक आयोजना गरिसकेको म्याराथनलाई केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।
गत वर्ष ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समावेश गरिएको थियो । कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा विभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।
FACEBOOK COMMENTS