काठमाडौं, बैशाख २४ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को अणुवांशिक (जिन)को अध्ययन हुने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफलसमेत गरेको छ ।
कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न थालिएको जानकारी दिए। उनका अनुसार कोभिड–१९ का कारण अरू देशमा महामारी फैलिएको र बिरामीको ज्यान जाने अवस्था आएको तर नेपालमा भने सङ्क्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो ।
अध्ययनका लागि नेपालमा रहेका भाइरोलोजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएको छ । अहिलेसम्मको अध्ययनले नेपालमा कोभिड–१९ को लक्षणविना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा सङ्क्रमण भइरहेको छ अध्ययनपछि पुष्टि हुने उनले बताए ।
परिषद्ले सङ्क्रमितहरूकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने छ । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड–१९ सम्बन्धित प्रयोगशाला सल्लाहकार समितिका सदस्यसमेत रहेका खनालले जानकारी दिए । उनका अनुसार सङ्क्रमित सबै जनाको स्वाब सङ्कलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ ।
उनले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिनेसमेत बताए । जिन पत्ता लगाएपछि कोभिड–१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ रहेको छ । रासस
FACEBOOK COMMENTS