काठमाडौं, भदौ १३ – जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले नेपालमा कोरोनाबारे अक्सफोर्ड पोलिसी म्यानेजमेन्टले गरेको अनुमान गलत रहेको दाबी गरेका छन्।
उक्त प्रतिवदेनमा कोरोनाका कारण नेपालमा यो वर्ष अर्थात् डिसेम्बरसम्ममा ८१ प्रतिशत नेपाली संक्रमित हुने र ४९ हजार २ सय जनाको मृत्यु हुन्छ भन्ने निष्कर्ष निकालिएको छ।
जनस्वास्थ्यविद् पाण्डेले उक्त अनुमान शतप्रतिशत गलत भएको दाबी गर्दै यसले जनमानसमा त्रास उत्पन्न गराएको भन्दै खण्डन गरेका छन्।
उनले भनेका छन्, ‘एउटा अध्येताका नाताले म दाबी गर्दछु कि त्यो अनुमान १०० प्रतिशत गलत हो, उक्त अध्ययनमा प्रकाशित संक्रमित एवं मृतकको संख्या कुनै पनि मिलेको छैन र मिल्दैन।’
शनिबार बिहान आफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो भ्रमको पछाडि नलाग्न पनि सबैलाई आग्रह गरेका छन्।
‘जुनदेखि सेप्टेम्बरसम्म प्रतिदिन ५० हजारदेखि ७५ हजारसम्म संक्रमित हुने, जुलाईदेखि अक्टुबरसम्म संक्रमण उच्चबिन्दुमा पुग्नेलगायत कुनै पनि तथ्यांक सही छैनन्’, उनले लेखेका छन्, ‘महामारीको समय यी र यस्ता अनेकौं हल्ला र भ्रम आइरहेका छन्, कुनै पनि हल्ला र भ्रमको विश्वास नगर्न हुन म विनम्र अनुरोध गर्दछु।’
जनस्वास्थ्यविद् पाण्डेको पोस्टमा कमेन्ट गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले यो रिपोर्टले प्रतिष्ठित संस्थाको अध्ययन प्रणालीमा प्रश्न खडा गरिदिएको टिप्पणी गरेका छन्।
FACEBOOK COMMENTS