काठमाण्ठडौं — विकास साझेदार संस्थाहरुले नेपालमा थप लगानी गर्न प्रतिवद्ध भएको जनाएका छन् ।
एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेनले नेपाल लगानी सम्मेलनमा सम्बोधन गर्दै हरेक हिसाबले नेपालमा लगानीको सम्भावना रहेको बताए ।
उनले नेपालमा लगानी बढाउनका लागि नयाँ साझेदारी रणनीति तयार भईरहेको जानकारी दिदैसरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको नारा सफल बनाउन सन् २०२० देखि २०२४ सम्म थप लगानी बढाउने गरी साझेदारी रणनीति तयार भईरहेको पनि बताए ।
यस्तै, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले कानुनमा भएको सुधारलाई कार्यन्वयनमा लान आग्रह गर्दै बनाएको कानुन कार्यन्वयनमा गर्ने मुख्य जिम्मेवारी कर्मचारीको भएको भन्दै त्यस तर्फ पनि सुधारको काम गर्नुपर्ने सुझाव दिए ।
विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आकर्षित गर्न भन्दै सरकारले दुई वर्षपछि लगानी सम्मेलन गरेको हो ।
सरकारले आयोजना गरेको यो तेस्रो लगानी सम्मेलन हो ।
सम्मेलनमा विभिन्न ३९ मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ७ सय भन्दा बढी विदेशी लगानीकर्ताहरुको सहभागीता रहेको छ ।
सरकारले यस्तै लगानी सम्मेलन २०४८ र २०७३ सालमा गरेको थियो ।
सम्मेलनमा सरकारले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजनाहरु प्रस्तुत गर्नेछन् भने करिब एक दर्जन विभिन्न समझदारीपत्र तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी समेत गरेको छ ।
सम्मेलनको पहिलो दिन लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारहरुबारे प्रस्तुतीकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरुको अनुभव, अन्तराष्ट्रिय लगानीकर्ताहरुको लगानी सम्बन्धी अनुभव सहित सातटा विषयगत सत्रहरु संचालन हुनेछन् ।
त्यसैगरी सम्मेलनको अन्तिम दिन दुईवटा बक्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन हुनेछन् ।
— कारोबार
FACEBOOK COMMENTS