काठमाडौं, जेठ १८ – नेपालमा पनि ‘कालो ढुसी’ को संक्रमण भेटिएको छ । छिमेकी देश भारतमा ‘ब्ल्याक फङ्गस’ भनिने कालो ढुसीबाट हजारौं मानिस संक्रमित भइरहेको बेला उक्त संक्रमण नेपालमा पनि फैलिएको हो ।
यो संक्रमण भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन आग्रह गर्दै एड्भाइजरी जारी गरेको छ । खासगरी कोभिड निको भएका विरामीहरुमा यो रोग देखिएको छ । मन्त्रालयले रोगका लक्षण, रोकथामका विधि र संक्रमण भए आइसोलेसनमा रहेर गर्नुपर्ने कार्यबारे एड्भाइजरीमा उल्लेख गरेको छ ।
कोभिड–१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको कालो ढुसीको सङ्क्रमण नेपालमा अहिलेसम्म झन्डै एक दर्जन भन्दा बढी मानिसमा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाडौंलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका छन् ।
मन्त्रालयले उक्त ढुसीको सङ्क्रमण देखिएपछि रोकथाम तथा उपचारबारे ‘प्रोटोकल’ बनाएर सार्वजनिक गरेका हो । यसअघि नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले रोकथाम र व्यवस्थापनसम्बन्धी एउटा एड्भाइजरी प्रकाशित गरिसकेको थियो ।
चिकित्सकहरूका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा मुख्यतया ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गर्ने गरिदै आएको छ । नेपालमा त्यो औषधिको प्रयोग कालाजारको उपचारमा हुँदै आएको छ । कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ ।
काठमाडौंको तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीका प्रमुख कार्यकारी अधिकृत तथा कोर्निआ विशेषज्ञ डा. रीता गुरुङका अनुसार मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला म्यूकोर्माइकोसिस हुने गर्छ । अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङ्गस एउटै प्रजातिको भएको उको भनाइ छ ।
FACEBOOK COMMENTS