लिन्जी -काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।
‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छांै, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’
नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल रु चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा चुले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ । ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’
ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, ‘तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’
दुई देशबीच उच्च हिमाली भूभाग छ । यो भूगोल रेल, सडक, विद्युत्लगायत सञ्जालका लागि सहज मानिँदैन तर तिब्बतले यस्ता पूर्वाधारमा काम गरिरहेको बताउँदै चुले भने, ‘तिब्बत दक्षिण एसिया जोड्ने माध्यमको आरम्भकर्ता भएपनि मूलद्वार नेपाल हो । तिब्बतबाट नेपाल हुँदै दक्षिण एसिया जोड्ने छौं । यसमा काम भइरहेको छ । नेपाल यसको द्वारमा निर्भीक रहनेछ ।’
सिगात्सेको रेल केरुङसम्म ल्याइपु¥याउन नेपालले चीनतिर सडक सञ्जाल विस्तार गर्नुपर्ने चिनियाँ अधिकारीको सुझाव छ । ‘चीन नेपालसँग भौतिक पूर्वाधारमा सहकार्य गरी काम अघि बढाउन चाहन्छ’, उपाध्यक्ष चुले भने ‘मैले यो विषय नेपाली राजनीतिक उच्च अधिकारीलाई भन्ने गरेको छु । हामी पनि विकासको चरणमा छौं । विन–विन सहकार्यमा विकास अघि बढाऔं । नेपाल मात्र होइन हिमालयन सहकार्य अबको अपरिहार्यता हो । हामी अब पहिलेझैं अवस्थामा छैनौँ । प्रविधि छ । विकास कार्य त्यहींबाट सहज हुने हो ।’
चीनले त्रिपक्षीय सहकार्यको प्रस्ताव अघि बढाउँदै नेपाललाई दक्षिण एसियाको ढोका सम्झेर यस्ता कार्यअघि बढाउन लागेको पनि उनले दोहो¥याए । काठमाडौं हुँदै रेलमार्ग निर्माण गर्दा नेपाल दक्षिण एसियाको रणनीतिक विन्दुमा दरिने र थप विकासमा अघि बढ्ने पनि उपाध्यक्षले बताए । नेपालमा प्राथमिकताका आधारमा उच्चतम महत्व दिएर तिब्बत सरकारले केन्द्रसँग सहकार्य गरी कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने चुको धारणा छ ।
नेपालस्थित चिनियाँ दूतावासमा नियोग उपप्रमुख रही डेढ वर्षअघि फर्केर बेइजिङस्थित विदेश मन्त्रालयअन्तर्गत बाह्य सुरक्षा विभागको सल्लाहकार रहेकी वाङ लिजिङले अन्तर्देशीय सञ्जाल चीनको प्राथमिकता भएको बताइन् । ‘पर्वतीय सहकार्यका लागि बेल्ट एन्ड रोड फोरम’मा आएकी उनले भनिन्, ‘नेपाल हाम्रो नजिकको मित्र मात्र होइन, पर्वतीय सहकार्यको एक भरपर्दो मित्र एवं पाटो हो ।’
उनले पनि रेलका विषयमा सम्झौता भएर अध्ययन अघि बढेको बताउँदै नेपालको विकासमा चीन सहकार्य गर्न तयार रहेको उल्लेख गरिन् ।
छिमेकी चीनले नेपाल हुँदै भारत लैजाने गरी रेल काठमाडौं ल्याउन खोजेको आम बुझाइ छ । उत्तर प्रदेश र विहारको बजार चीनको नजरमा छ भने भारतले चिनियाँ बजारलाई कुनै न कुनै रूपमा नजर लगाइरहेको छ ।
तीन वर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाएपछि उत्तरतर्फको सडक तथा रेल सञ्जालले बढी महŒव पाएको हो । नाकाबन्दीकै समयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७२ चैतमा चीनको भ्रमण गर्दै चीनतर्फ रेल र तेल ढुवानीको संरचना जोड्ने विषय अघि बढाएका हुन् । तेलको प्रसंग अघि नबढे पनि रेलमार्ग निर्माणले अध्ययनको तहमा निरन्तरता पाइरहेको छ ।
निकै खर्चिलो हुने ठानिएको रेल परियोजनामा नेपालले चीनको सहयोग खोजेको छ । चीनले अनुदानमा केही र केही सहुलियत ऋण दिन सक्ने बताउँदै आएको छ । चिनियाँ अधिकारीले रेलसँगै सडकमार्ग विकासमा पनि जोड दिएका छन् ।
अन्नपूर्ण पोष्ट
FACEBOOK COMMENTS