काठमाडौं, २९ माघ –अर्थमन्त्री विष्णु पौडेलले अब नेपाल मै विद्युतिय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने बताएका छन् । नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको बताउँदै उनले अटोमोवाइल व्यवसायीहरुले साे कार्य शुरू गर्नु पर्ने बताएका हुन् ।
साथै, त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफुले गरि दिने बताएका छन् ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलसँगको भेटमा उनले साे बताएका हुन् । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेका थिए ।
छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक बर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ भन्ने नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्धारा नियुक्त जुन सुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा मन्त्रीलाई जानकारी गराए ।
त्यसैगरी, सो छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे मन्त्रीलाई जानकारी गराएका थिए ।
छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS