काठमाडौँ, मंसिर २ – विश्वव्यापी महामारीविरुद्ध लड्न बन्ने खोपका लागि नेपालले ६० लाख डोजको प्रतिबद्धता पाएको छ। विश्वभर खतरनाक रोगविरुद्ध बालबालिकालाई खोप लगाउँने संस्था गाभी र खोप विकास, उत्पादन र विश्वव्यापी रूपमा समानुपातिक वितरणको अभियान कोभ्याक्सले जुनसुकै खोप बनेको खण्डमा नेपाललाई ६० लाख डोज दिने प्रतिबद्धता जनाएको हो।
कोभ्याकले राष्ट्रप्रमुखलाई पत्र लेखेर उक्त प्रतिबद्धता जनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले केही समयअगाडि कोभ्याक्सले खोप बनेको खण्डमा ६० लाख डोज उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताएका छन्।
“कोभ्याक्सले राष्ट्रप्रमुखलाई पत्र पठाएर जुनसुकै खोप बनेको खण्डमा ६० लाख डोज उपलब्ध गराउँछौं भनेर प्रतिबद्धता जनाएको छ। स्वास्थ्य मन्त्रालयलाई पनि बोधार्थ गरिएको छ,” प्रवक्ता प्रा.डा. गौतमले देखापढीसँग भने।
उपलब्ध हुने खोपका लागि २० प्रतिशत नेपाल सरकारले बेहोर्नुपर्नेछ भने ८० प्रतिशत खर्च कोभ्याक्स अभियानले बेहोर्नेछ। “अहिलेसम्म हेर्दा एउटा खोपको १० डलर पर्छ भन्ने छ। त्यसमा दुई डलर हामीले तिर्छौँ भने ८ डलर कोभ्याक्सको तर्फबाट व्यवस्था हुनेछ। उक्त खोप प्राथमिकताका आधारमा लगाइन्छ,” उनले भने।
उक्त खोप महामारीको फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको समूहलाई लगाइनेछ। “उच्च जोखिममा रहेको जनसङ्ख्यालाई दिने गरी उक्त खोप उपलब्ध हुनेछ। बृद्धबद्धा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू प्राथमिकतामा पर्नेछन्।” गौतमले भने।
FACEBOOK COMMENTS