काठमाडौं,चैत ३- कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्थामा पुगेको छन । यसैगरी बिदामा आएकाहरूले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसैगरी वैदेशिक रोजगार व्यवसायीले यो समयमा ल्याएका रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताए । उनका अनुसार श्रम गन्तव्यमा लामो समयसम्म कोरोनाको संक्रमण रहे ३५ हजार भिसोको म्याद सकिने छ ।
श्रम गन्तव्यबाट नयाँबाहेक नै दैनिक ५ सय नेपाली बिदामा आउने र सोही संख्यामा बिदा मनाए फर्कर्ने नेपालीमा प्रत्यक्ष प्रभाव परेको छ । साउदीस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गरेर कोरोना भाइरस संक्रमितहरूको संख्या साउदी अरबमा पनि दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा साउदी सरकारले आइतबारबाट हवाई सेवा स्थगन गरेको जनाएको छ । “साउदी सरकारको हवाइ सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरूका लागि २ हप्ताको विशेष विदा दिने निर्णय गरेको पनि साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ,” नेपाली दूतावास साउदी अरेबियाले जारी गरेको सूचनामा उल्लेख छ, “तसर्थ, आगामी दुई हप्ताका लागि साउदीमा रहनुभएका नेपाली नागरिकहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको व्यहोरा अनुरोध छ ।”
नेपालका प्रमुख श्रम गन्तव्य कतार, युएई र मलेसियाले पनि कोरोना भाइरस (कोभिड १९) कारण आवतजावतमा कडाई गरेपछि दैनिक थप नेपाली युवा प्रभावित हुन थालेका छन् । नेपालबाट रोजगारीका जाने ९० प्रतिशत युवा कतार, मलेसिया, साउदी अरब र यूएई जाने आउने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
विशेषगरी कतार, यूएई लगायतका खाडी समन्वय परिषद् (जिसीसी) राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण पैmलिएपछि त्यहाँ रहेका नेपालीको आवतजावत कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि सुनसान बनेको छ । नेपालबाट रोजगारीका लागि धेरै युवा जाने श्रम गन्तव्य कतारले यस अघि नै आवतजापतमा अस्थायी रूपमा रोक लगाएको छ । यसैगरी यूएईले पनि ३ दिन अघि सूचना सार्वजनिक संक्रमण बढदै गएकोले उच्च सजकता अपनाउन अनुरोध गरेको छ ।आजको कारोबार दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS