काठमाडौं, फागुन २६ – कोरोना संक्रमणबाट बाँकेमा नेपाली कांग्रेसकी नेतृ मायादेवी गुरूङको निधन भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२०, राँझा निवासी ५४ वर्षीया गुरुङ नेपाली कांग्रेसकी क्षेत्रीय कार्यसमिति सदस्य तथा समाजसेवी थिइन्।
बुधबार बिहान उपचारका क्रममा भेरी अस्पतालमा गुरुङको मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ। केन्द्रका अनुसार उनलाई गत माघ ३० गते कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा राखिएकामा स्वास्थ्य अवस्था बिग्रिएपछि फागुन ६ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो।
उपचारको क्रममा उनलाई प्लाज्मा र रेमडिसिभिर औषधी दिनुका साथै अन्य सबै विधि अपनाउँदा पनि स्वास्थ्यावस्था झन् जटिल बनेपछि बुधबार बिहान गुरुङको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ।
मृतक गुरूङ नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखा सभापति, सामुदायिक प्रहरी केन्द्रको सचिव तथा नेपालगञ्ज उद्योग वाणिज्य संघकी पूर्व कार्यसमितिकी सदस्य थिइन्। योसँगै कोभिड संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेहरुको संख्या ५५ पुगेको छ। पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमण घट्दै गएकोले धेरै समयपछि महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ।
FACEBOOK COMMENTS