काठमाडौं । नेपाली कामदारहरु रहेका देशहरुमा नियमित उडान सुरु गर्ने निर्णय भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बिहीबार बसेको बैठकले मध्यपूर्वका देशहरुसहित जापान र कोरियामा नियमित उडान सुरु गर्ने निर्णय गरेको प्रमुख बालानन्द शर्माले जानकारी दिए । हप्तामा दुई हजार मानिस नेपाल ल्याइने र त्यसमा १५ सयजना नेपाली कामदार हुनै पर्ने व्यवस्थासहित उडान अनुमतिको निर्णय भएको शर्माले जानकारी दिए ।
उनका अनुसार यी देशबाट नेपाली कामदारलाई प्राथमिकतामा राखेर ल्याइने छ । रोजगारीका लागि जान चाहनेहरु जाने र त्यहाँबाट आउन चाहने नेपाली कामदारहरुलाई प्राथमिकताका साथ ल्याइने भएको छ । आफ्नो खर्चमा आउन नसक्ने नेपाली कामदारलाई राज्यको खर्चमा ल्याउने व्यवस्था गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।
कुन देशमा हप्ताको कति उडान हुने भन्ने विषयमा कामदारको चाप अनुसार निर्णय हुने उनले बताए । वैदेशिक रोजगारीमा जाने र उताबाट आउन चाहने नेपालीलाई ध्यानमा राख्दै हवाई उडान खुला गर्ने निर्णय भएको उनले बताएका छन् ।
हाल कतारका लागि सातामा दुईवटा हवाई उडान भइरहेका छन् । यस्तै टर्कीमा हप्ताको एउटा उडान हुने गरेको छ । चीनसँग पनि सातामा एउटा उडान गर्ने निर्णय भएपनि सुचारु हुन सकेको छैन।कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै नेपालमा वैशाख २३ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो।
FACEBOOK COMMENTS