काठमाडौं, कात्तिक १ – नेपाली फिल्म क्षेत्रको पहिलो छायाँकार (सिनेम्याटोग्राफर) वैकुण्ठमान मास्केको निधन भएको छ। निदान अस्पतालमा उपचाररत् उनको शुक्रवार निधन भएको हो। किड्नीका बिरामी ८३ वर्षीय उनमा कोभिड-१९ समेत पुष्टि भएको थियो।
मास्केले २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट सिनेम्याटोग्राफीमा डिप्लोमा गरेका थिए। औपचारिक पढाइ सकेयता उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे। उनले परिवर्तन, मनको बाँध, हिजो आज भोली लगायत दुई दर्जन बढी फिल्म खिचेका छन्।
मास्के गत वर्ष पहिलो नेपाली चलचित्रलाई सम्पादन गर्ने प्राविधिकको रुपमा राष्ट्रपतिबाट सम्मानित भएका थिए। नेपाल चलचित्र निर्माता संघले वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरेको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ को अवसरमा उनलाई सम्मानित गरिएको हो।
मास्केको नेपाली सेनाको सलामीसहित शुक्रवार नै पशुपतिको विद्युतीय शवबदाहमा अन्त्यष्टी गरिएको छ।
FACEBOOK COMMENTS