काठमाडौँ, ४ वैशाख – त्रिकोणात्मक टी–ट्वान्टी अन्तराष्ट्रिय श्रृंखलाको उद्घाटन खेलमा शनिबार नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । एक वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको नेपाली क्रिकेट टिमको विपक्षी नेदरल्यान्ड्स पनि करिब डेढ वर्षदेखि मैदान बाहिर नै रहँदै आएको थियो । त्यसकारण यस श्रृंखला दुबै टिमका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने मौका हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेलमा नेपाली टिममा पारस खड्का हुनेछैनन् । अभ्यासमका क्रममा काँधको चोट बोकेका पारस केही साता मैदानबाहिर रहनेछन् । टिममा पारसको स्थानमा सन्दिप जोरालाई ल्याइएको छ ।
यसपटक नेपाली टिममा केही युवा खेलाडीहरू समावेश गरिएका छन् । शाहब आलम पहिलो पटक नेपाली टिममा परेका छन् । त्यसैगरी, आसिफ शेख र कुशल भुर्तेल पनि पहिलो पटक नेपालको टि–ट्वान्टीमा समावेश गरिएका खेलाडी हुन् । चोटका कारण लामो समय नखेलेका सोमपाल कामीले पनि यसै प्रतियोगिताबाट पुनरागमन गर्दैछन् ।
घरेलु टिम नेपाल र पाहुना टोली सन् २०१९ पछि पहिलो पटक भिड्न लागेका हुन् । पछिल्लो भिडन्तमा नेपाल विजयी भएको थियो । ओमानमा भएको टि–ट्वान्टी श्रृंखला दौरान नेपालले नेदरल्यान्ड्सलाई चार विकेटले हराएको थियो ।
दुई टिम छ पटक टी–ट्वान्टीमा भिडेका छन् । जसमध्ये तीन पटक नेदरल्यान्ड्स विजयी बनेको छ । नेपालले दुई खेल जितेको छ । एक खेल भने वर्षका कारण नतिजा विहिन बनेको थियो ।
नेपालले आफ्नो दोस्रो खेलमा सोमबार मलेसियाको सामना गर्नेछ । यस श्रृंखलामा सबै टिमले एक आपसविरुद्ध दुई–दुई पटक खेल्नेछन् । शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछन् ।
नेपाली टिम: ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी, सुशन भारी ।
डच टिमः पिटर सिलर (कप्तान), फिलिप बोइसभान, सेबस्टियन ब्राट, बेन कुपर, बास डे लिडे, युलियान डे मे, आर्यन दत्त, स्कट एडवार्डस, भिभियान किङमा, म्यामक्स ओ डोड, एन्टोनियस स्टाल, विक्रमजित सिंह र टोबयिास भिस्से ।
FACEBOOK COMMENTS