काठमाडौं, पुस १९ – अभिनेत्री मनिषा कोइरालाले नेपाल अरु कुनै पनि देशको खेल्ने मैदान नबनोस् भनी कामना गरेकी छिन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत नेपाल अरु देशको इच्छाअनुसार खेल्ने मैदान बन्न नहुनेमा जोड दिएकी हुन् ।
उनले विदेशीहरुले खेलेकै कारण कयौं देशहरु असफल भएका उदाहरणहरु रहेको समेत बताएकी छिन् ।
विदेशीको इशारामा नेपाली राजनीति चलिरहेको सन्दर्भमा मनिषाले उक्त विचार व्यक्त गरेकी हुन् । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गरेको तिब्वत नीति र समर्थन ऐन २०२० सम्बन्धी नयाँ कानूनमा नेपालसमेत प्रभावित पर्ने देखिएपछि मनिषाले नेपालले कुनै पनि देशलाई खेल्ने मैदानका रुपमा प्रयोग गर्न दिन नहुने राय राखेकी हुन् ।
सो कानुनमा दलाई लामाको उत्तराधिकारी घोषणा गर्नेदेखि तिब्बती समुदायको आर्थिक र सामाजिक अधिकारको विषय समावेश रहेका छन् । यसको बाछिटा नेपालसम्मै पर्ने देखिएको छ ।
लामो समयदेखि तिब्बती शरणार्थीहरु नेपालमा बसिरहेको अवस्थामा मनिषाले नीति निर्माताहरुलाई सचेत गराएकी हुन् ।
FACEBOOK COMMENTS