काठमाण्डौँ — नेपाल र चीनको ऊर्जासम्बन्धी संयुक्त कार्यान्वयन संयन्त्रको पहिलो बैठक काठमाडौंमा सकिएको छ ।
सचिवस्तरीय बैठकले एक अर्काको देशमा ऊर्जा क्षेत्रमा हुने लगानीलाई सहजीकरण गर्न सहमत भएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।
बैठकमा दुवै देशबीच प्रस्तावित अन्तरदेशीय रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणको विषयमा समेत छलफल भइरहेको थियो ।
ऊर्जा सचिव अनुपकुमार उपाध्याय र चीनका राष्ट्रिय ऊर्जा प्रशासनका सहायक निर्देशक ही येङले दुवै देशका तर्फबाट बैठकको अध्यक्षता गरेका थिए ।
नेपाल र चीनबीच चार महिनाअघि भएको ऊर्जा सहकार्यसम्बन्धी समझदारीका आधारमा संयन्त्र गठन भएको हो ।
बैठकमा आआफ्नो देशका ऊर्जा प्रणालीको अवस्था, लगानीको वातावरण, ऊर्जाको बजार र भावी योजनाको विषयमा एक अर्कालाई जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS