काठमाडौं, १४ मंसिर -युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्दमशीलताको विकासमा क्रियाशील नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा श्रीराम पौडेलले उम्मेदवारी दिएका छन् ।
हरेक वर्ष हुने जेसिजको राष्ट्रिय महाधिवेशन यसपाली पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा आयोजना हुँदैछ ।
कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका पौडेल नेपाल जेसिजमा लामो समय देखि सक्रिय छन्। पौडेल सन् २०१८ का राष्ट्रिय महासचिव हुन् । उनी नेपाल जेसिजको बालाजु शाखाका संस्थापक अध्यक्ष समेत हुन् । उनको नेतृत्वमा जेसिजको बालाजु शाखाले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याएको थियो । सन् २०१७ मा उनलाई जेसिजले मुख्य तालिम आयुक्तको जिम्मेवारी दिएको थियो । त्यतिबेला जेसिजको तालिमलाई प्राज्ञिक तुल्याउन पौडेल लगायतले अतिरिक्त मेहनत गरेका थिए ।
ब्यवसायिक रुपमा चाहिं पौडेल विगत दुई दशकदेखि शिक्षा क्षेत्रमा सक्रिय छन् । समन्वयात्मक नेतृत्व र व्यापक जनसम्पर्क पौडेलका विशेषता हुन् । कार्यकारिणी उपाध्यक्षमा निर्वाचित हुनेलाई जेसीजको भावी नेतृत्वको रुपमा हेरिन्छ ।
उम्मेदवारी दर्तापछि पौडेलले भने, “सामूहिक नेतृत्वको भावना विकास गर्दै १८ देखि ४० वर्षका युवाको व्यक्तित्व, नेतृत्व,व्यवसायिक विकास,मानवताको सेवा, विश्व बन्धुत्वको भावना र विधिको शासन कायम गराउन जेसिज समर्पित छ । युवाहरुलाई समाज प्रतिको दायित्वबोध,आर्थिक अनुशासन र समयबोध प्रति अभिप्रेरीत गर्न मैले उम्मेदवारी दिएको हुँ ।” उनी भन्छन्,“जेसिजलाई देशकै एक नंबर मानवतावादी संस्था बनाउन मेरो सम्पूर्ण योग्यता समर्पित हुनेछ । म निर्वाचित भएमा अन्तर्राष्ट्रिय संस्थाहरुसँग समन्वय गर्दै जेसिजको पृथक पहिचानलाई नयाँ उचाई दिनेछु ।”
FACEBOOK COMMENTS