काठमाण्डौँ — नेपाल र भारतीय ऊर्जा अधिकारीको बैठक नयाँदिल्लीमा सुरु भएको छ ।
बैठकमा नेपालले भारतबाट खरिद गर्ने विद्युत्को महसुल दरसहित इनर्जी बैंकिङ र अन्तरदेशीय प्रसारण लाइनको मोडालिटीबारे पनि छलफल हुने सहभागी एक अधिकारीले बताए ।
ती अधिकारीका अनुसार बैठकमा भारतबाट नेपालले खरिद गर्ने विद्युत्को नयाँ दर निर्धारण गर्ने सम्भावना छ।
अहिले नेपालले अपुग दैनिक करिब ४ सय मेगावाट विद्युत् भारतबाट खरिद गर्दै आएको छ।
नेपाल विद्युत प्राधिकरणले भारतबाट ११ केभी, ३३ र १३२ केभी क्षमताको प्रसारण लाइनबाट विद्युत् आयात गर्दै आएको छ।
नेपाल र भारतबीत प्रस्तावित न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माणको विषयमा पनि छलफल हुनेछ।
यही बैठकको निष्कर्षको आधारमा दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा छलफल हुनेछ।
दुई देशका सचिवस्तरीय बैठक आगामी महिना पोखरामा बस्दैछ।
बैठकमा नेपाली टोलीको नेतृत्व विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र भारतीय पक्षको नेतृत्व केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख प्रकाश मास्केले गरेका छन्।
— कान्तिपुर
FACEBOOK COMMENTS