काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा योजना पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा निजी क्षेत्रले शिलान्यास गरेको छ ।
भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ ।
लामाबगर फलाक नाका नेपाल–भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन् ।
त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय ठेक्का आह्वान गर्न २५ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको वडा नं–१ लामाबगरमा शिलान्यास गरेपछि सुरुङ मार्ग निर्माण कार्य अन्योलमा परेको छ ।
तर अध्यक्ष खडकाले भने आफूलाई दुगड समूहका जिम्मेवार व्यक्तिले नै फोन गरेर सुरुङ निर्माण गर्ने र शिलान्यास गर्नुप¥यो भनेपछि कार्यक्रममा सहभागी भएको बताए । उनले कुनै पनि जालझेलभन्दा पनि बिगु गाउँपालिका र जिल्लावासीको समृद्धिका निम्ति सुरुङ मार्ग निर्माण महत्वपूर्ण रहेकाले सो काममा सहभागी भएको बताए ।

पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सुरुङ मार्ग निर्माणको काम सरकारबाटै सुरु गर्न थालेको अवस्थामा दुगड ग्रुपको नाटकीय गतिविधिले सुरुङ मार्ग निर्माणमा अवरोध पुग्ने बताएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
