काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए ।
नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने ओलीको भनाइ थियो । “विमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्छौं ।”
प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नुपर्ने समय आएको बताए । “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “नेपालको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना ल्याएमा सरकारको साथ सहयोग हुनेछ ।”
प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताए । “हामी आर्थिक परिर्वतन त भनिरहेका छौँ तर त्यो बाटो पक्रिरहेका छैनौँ” प्रधानमन्त्री ओलीले भने “सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ, यसमा कृषिलाई पनि जोड्नु पर्दछ ।”
“देशलाई स्थिरता चाहिएको छ, जनताले स्थिरताको अपेक्षा गरेका छन्, वर्तमान सरकार अगाडि नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार होइन” उनले भने । “जनताले स्थिरताका लागि पनि गतिशील सरकारको अपेक्षा गरेका थिए । त्यो पूरा भएको छ, अब सरकारले जनताका तिनै अपेक्षाबमोजिम काम गर्छ” प्रधानमन्त्री ओलीले भने ।
-रासस
FACEBOOK COMMENTS