काठमाडौं – नेपाल र जापान बीच बुधबार सिधा हवाई सेवा सम्झौता हुने भएको छ ।
जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा दुई देशबीच हवाई सम्झौता हुनलागेको हो ।
यसअघि सन् १९९३ मा जापानसँग भएको सम्झौतालाई अहिले नवीकरण गर्न लागिएको हो ।
जापानी विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार काठमाडौं आइपुग्ने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
सम्झौतापछि नेपाल–जापानबीच सातामा १४ वटासम्म उडान हुनेछ ।
जापानको नारिता विमानस्थलसहित अन्य विमानस्थलबाट यो सेवा सञ्चालन हुनेछ । टोकियोको सबैभन्दा ठूलो एयरपोर्ट हानडामा भने नेपाली वायु सेवाले प्रवेश पाउने छैन ।
यो सम्झौता पछि जापानमा बस्ने नेपाली र जापानबाट आउने पर्यटकले अधिकतम् लाभ उठाउन सक्नेछन् ।
नेपाल वायु सेवा निगमको सेवा विस्तार र नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै सरकारले जापानमा पनि सिधा हवाई उडान गर्न पहल गरेको थियो ।
नेपाल–जापान सिधा उडान शुरु भएपछि नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानी पर्यटक नेपाल भित्र्याउन मद्दत सरकारको विश्वास छ ।
FACEBOOK COMMENTS