काठमाडौं, पुस २१ – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरवाही गर्ने मलेशिया स्टेशनका कर्मचारीलाई कारवाही गरेको छ । निगमको मलेशियास्थित स्टेशनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरवाहीका कारण निगमको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि निगमले मलेशिया स्टेशनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो ।
गत डिसेम्बर ३० तारिखका दिन मलेशियाबाट काठमाडौँ आएको निगमको उडान नं ४०१६ जहाज बिहान ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पिसिआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजेटिभ रिपोर्ट लिएर आएको फेला परेपछि विमानस्थलमा हल्लाखल्ला मच्छिएको थियो ।
निगमको न्यारोबडी ए ३२० जहाजमा १४५ यात्रु आएका थिए । ती पोजेटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वारेन्टिनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो । सो घटनामा निगमको मलेशिया स्टेशनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नआएपछि उनीहरुलाई फिर्ता बोलाउनुका साथै होटल क्वारेन्टिनमा बस्ने यात्रुको सम्पूर्ण खर्च दामासायीले असुल उपर गर्ने गरी कारवाही गरेको हो ।
FACEBOOK COMMENTS