वैशाख १८ — नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केट बाट विद्युत् किन्न सुरु गरेको छ । विद्युत् खरिदकर्ता र बिक्रीकर्ताबीचको प्रस्तावबाट मूल्य तय हुने यो बजारबाट विद्युत् खरिदका लागि खरिदकर्ताले अघिल्लो दिन नै मूल्य र खरिद गर्ने विद्युत्को परिमाण प्रस्ताव गर्नुपर्छ ।
प्राधिकरणले शुक्रबार राति १२ देखि १ बजेसम्म २ सय ५० मेगावाट किन्ने, राति १ देखि शनिबार दिउँसो ६ बजेसम्म २ सय मेगावाट विद्युत् किन्ने र साँझ ६ देखि १२ बजेसम्म २ सय ५० मेगावाट विद्युत् खरिद गर्ने गरी प्रस्ताव हालेको थियो । इनर्जी एक्सचेन्ज बजारमा हरेक १५–१५ मिनेटका लागि विद्युत् खरिद गर्न पाउने व्यवस्था छ ।
इनर्जी एक्सचेन्जबाट खरिद गरिएको विद्युत् ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल भित्र्याइएको हो । यही प्रसारण लाइनबाट नेपालले भारतको एनटीपीसी विद्युत् व्यापार निगम सँग किनेको विद्युत् पनि भित्रिन्छ ।
यो अन्तरदेशीय प्रसारण लाइनमार्फत ३ सय ५० मेगावाटसम्म विद्युत् आदानप्रदान गर्न मिल्छ ।निगमसँग विद्युत् खरिदका लागि प्राधिकरणले गरेको सम्झौता जुन महिनामा सकिँदै छ ।
FACEBOOK COMMENTS