काठमाडौँ — साताको पहिलो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १ हजार १ सय ४९.०१ विन्दुबाट पहिलो कारोबार सुरु भएको थियो । त्यसपछि बजार निरन्तर ओरालो लाग्यो ।
यो गिरावटपछि नेप्से १ हजार १ सय ३६.९६ विन्दुमा ओर्लेको छ। अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से १२.०५ विन्दुले घटेको हो। सो दिन करोबारमा आएकामध्ये सामूहिक लगानी कोषबाहेक सबै समूहको परिसूचक घटेपछि समग्र नेप्से दबाबमा परेको हो।
दसैंपछि एक दिन (गत बिहीबार) मात्र बजार खुलेको थियो। सो दिन नेप्से झिनो अंकले घटेको थियो। त्यसपछि सोमबार मात्र बजार खुलेको हो। सो दिन नेप्से उच्च अंकले घटेपछि लगानीकर्ता निरुत्साहित बनेका छन्।
सोमबार नेप्से निरन्तर रूपमा घटेको थियो। दसैंअघिका दुई दिनमा नेप्से दोहोरो अंकले बढेको थियो। त्यही वृद्धिका आधारमा केही अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि सोमबार बजार घटेको जानकारहरू बताउँछन्।
उक्त दिन होटल समूहको परिसूचक सबैभन्दा बढी २.९१ प्रतिशतले घटेको छ। यस्तै, बैंकिङ समूहको परिसूचक १.२७, वित्त कम्पनीको १.१ र निर्जीवन बीमा समूहको परिसूचक १.१६ प्रतिशत घटे।
सो दिन व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, ‘अन्य’, लघुवित्त र जीवन बिमा समूहको परिसूचक भने १ प्रतिशतभन्दा थोरैले छ। सामूहिक लगानी समूहको परिसूचक भने ०.०५ प्रतिशतले बढेको छ।
सोमबार कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयरमूल्य बढ्यो, १ सय ११ कम्पनीको घट्यो भने २० कम्पनीको सेयरमूल्य स्थिर छ। नेप्से परिसूचक घटेसँगै नेप्सेको वर्गीकरणमा ‘क’ वर्गमा परेका कम्पनीका सेयर कारोबार मापक सेन्सिटिभ परिसूचक १.१ र व्यापारमा रहेका सबै कम्पनीको सेयर कारोबार मापक फ्लोट परिसूचक १.०९ प्रतिशतले ऋणात्मक रहे। सो दिन कुल सेयर पुँजीकरण पनि घटेर १४ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको छ।
करिब साढे ३ हजार कारोबारबाट १ सय ५४ कम्पनीका ८ लाख ३३ हजार ७ सय ५३ कित्ता सेयर किनबेच भए। ती किनबेचबाट २१ करोड ८६ लाख बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा बढी हो। गत बिहीबार नेप्सेमा ६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
FACEBOOK COMMENTS