काठमाडौं, मंसिर २८ – कोरोना कहरमा पनि थुप्रै गीतसंगीत बाहिर आएका छन् । सायद, त्यसैले पनि गीतसंगीतलाई समेटेर आयोजना हुने अवार्डहरु समेत भटाभट घोषणा हुन थालेका छन् ।
यस्तैमा मनोरन्जनका सम्पूर्ण विधा समेटेर ‘नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१’ आयोजना हुने भएको छ । लामो समयदेखि कोभिड –१९ तथा लकडाउनले सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाई पुनः चलायमान बनाउन र यससंँग अवद्ध रहेका व्यक्ति, श्रष्टा तथा सृजनालाई हौसला प्रदान गर्न अवार्ड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
२०७७ भित्र बजारमा आएका गीत संगीतका विभिन्न विधा समेटिएको अवार्डमा आउँदो माघमा आयोजना हुने संयोजक सूर्य चन्दले जानकारी दिए ।
१५ माघ भित्र आवेदन फर्म भर्नु पर्ने प्रावधान रहेको अवार्ड क्रियटिभ इन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको हो ।
अवार्डमा उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक गायिका म्युजिक भिडियो मोडल, चलचित्रका अलवा खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर विषयमा पनि सम्मान गरिने आयोजकको भनाइ रहेको छ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्ति तथा कला पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।