काठमाडौं, पौष १६ – सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने व्यवस्था गरेर मंगलबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएका छन् ।
फाराम विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिनेछ । विभागले कोटा भएको अवस्थामा मात्र फाराम भर्न सकिने जनाएको छ । एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ भने परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने विभागले जनाएको छ ।
गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा प्रक्रिया खुल्न सकेको थिएन
यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएका छन् । लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएको गुनासो गर्दै आएका थिए । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ । तर विभागले भने कोटा प्रणालीमा फाराम खुला गरेको हो ।
विभागले कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खुला गरेको जनाएको छ । विभागले यसअघि नै सबै कार्यालयलाई परीक्षा सञ्चालनका लागि तयार रहन पत्राचार गरेको थियो । कोरोना संक्रमणको सुरक्षाका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन भनिएको थियो ।
अब ट्रायल पास गरेकाहरूको नयाँ लाइसेन्स एक महिनाभित्रै पाउने गरी तयारी भइरहेको विभागले जनाएको छ । विगतमा छपाइमा ढिलाइ हुँदा ट्रायल पास गरेकाहरूले पनि लाइसेन्स पाउन लामो समय कुर्नुपर्ने बाध्यता थियो ।
FACEBOOK COMMENTS