काठमाडौं, २१ कात्तिक – न्युजिल्यान्ड सरकारले गाँजालाई वैधानिकता नदिने भएको छ। सरकारले गाँजालाई वैध बनाउने वा नबनाउने भन्ने विषयमा जनमत संग्रह गरेको थियो। शुक्रबार आएको नतिजाअनुसार गाँजालाई वैध नबनाउने निर्णय भएको हो।
५१ प्रतिशतले गाँजालाई वैध बनाउन नहुने पक्षमा भोट हालेपछि वैध नहुने भएको हो। ४८ प्रतिशतले गाँजालाई वैध बनाउनु पर्ने पक्षमा भोट गरेका थिए।
गत अक्टोबर १७ मा भएको चुनावमा ४६ प्रतिशतमात्रैले यसलाई वैध बनाउनु पर्ने पक्षमा मत हालेका थिए। शुक्रबार गणना सकिएको विशेष मतदान (विदेशमा रहेकाले पनि भोट हालेको)मा पनि गाँजालाई वैधानिकता दिने पक्षमा बहुमत पुग्न सकेन।
गाँजालाई वैधानिक बनाउनु पर्छ भन्ने वकालत गर्नेहरूले विशेष मतदानबाट यसको पक्षमा बहुमत पुग्ने अपेक्षा गरेका थिए। जनमत संग्रहबाट अस्वीकृत भएसँगै अब गाँजालाई वैधानिक बनाउने विधेयक संसदमा पेस हुने छैन भने गाँजाको कारोबार र सेवन गैरकानुनी मानिनेछ।
गत चुनावमा सरकारले दुई वटा विषयमा जनमत संग्रह गरेको थियो। एउटा गाँजालाई वैध बनाउने वा नबनाउने विषयमा थियो भने अर्को इच्छामृत्युको विषयमा थियो।
FACEBOOK COMMENTS