पर्वत – पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
युएइमा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् ।
पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पर्ने पञ्चासेसम्म केबलकारसहितका अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्न लागिएको छ ।
पञ्चासे केबलकार गण्डकी प्रदेशकै सबैभन्दा ठूलो परियोजना भएकाले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।
देश समृद्ध बनाउने राम्रो एजेण्डामा उहाँहरुको सकारात्मक प्रतिबद्धतासहित लगानीका लागि अग्रसर रहेको आफूले पाएको शर्माको भनाइ छ ।
अध्यक्ष शर्माले दिएको जानकारीअनुसार अष्ट्रेलियामा बस्ने पर्वतेलीले रु २० करोड लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बेलायतलगायतका युरोपेली देशबाट रु १० करोड लगानी गर्ने प्रतिबद्धता आएको छ भने पर्वत समाज कतारबाट दुई करोड, पर्वत समाज बेल्जियमबाट रु १० करोड लगानीको प्रतिबद्धता आएको छ ।
११ अर्ब ५० करोड रुपैया लागतमा केबलकार निर्माण गर्ने लक्ष्य राखिएको छ । परियोजनाको ६० प्रतिशत सहुलियत कर्जाबाट र ४० प्रतिशत शेयर सङ्कलन गर्ने लक्ष्य छ । रु चार अर्ब ५५ करोड शेयरमध्ये रु दुई अर्ब ७३ करोड प्रवद्र्धक शेयरबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । रु एक अर्ब ८२ करोड भने शेयर निष्कासनबाट सङ्कलन गर्ने लक्ष्य छ ।
परियोजनाको सञ्चालनबाट प्रत्यक्ष वा अप्रत्यक्ष १० हजारलाई रोजगारी सिर्जना हुने अनुमान छ । रासस
FACEBOOK COMMENTS