काठमाडौं, वैशाख १४ – नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई इन्टरनेट, टेलिफोन र विद्युतमा सहुलियत दिन सरकारसँग माग गरेको छ । अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियत व्यवस्थाका साथै सूचना प्रवाहको दायित्व पूरा गरिरहेका सञ्चारमाध्यम र पत्रकारहरुलाई अत्यावश्यक साधनमा उक्त सहुलियन दिन महासंघले माग गरेको हो ।
साथै, महासंघले कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनाका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न पनि सकारसँग आग्रह गरेको छ । कोरोना सक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउन समेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्ने सम्बन्धमा सञ्चार गृहको व्यवहारिक प्रतिवद्धताको अपेक्षा समेत महासंघले गरेको छ ।
त्यस्तै कोरोना संक्रमणले उत्पन्न गराएकोे अवस्थाको बहाना बनाई श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता कार्य नगर्न तथा पत्रकारको बाँकी बक्यौता रकम तत्काल भुक्तानी दिन महासंघले जोडदार माग गरेको छ । अन्यथा कानूनी लगायतका सबै प्रकारका संघर्षमा जान बाध्य हुने महासंघले चेतावनी दिएको छ ।
अग्रपंत्तिमा काम गर्ने पत्रकारहरुका लागि सुरक्षित वातावरण तयार पार्न, समयमै पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराउन तथा घरबाटै काम गर्ने वातावरण बनाउन महासंघले सञ्चार गृहहरूलाई आग्रह गरेको छ ।
त्यस्तै आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ ।
FACEBOOK COMMENTS