काठमाण्डौँ — पप्पु कन्स्ट्रक्सनका सञ्चालक र तिनलाई सघाउने सरकारी अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ठूला सरकारी ठेक्का समयमै पूरा नगरी अलपत्र छाड्ने पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियार, छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
हरिनारायण संघीय समाजादी फोरमका सांसद हुन् । मुद्दा दायर भएसँगै उनी सांसदबाट स्वतः निलम्बनमा परेका छन् ।
अभियुक्त सबै फरार छन् ।
अख्तियारले उनीहरूसँग ९० करोड ८९ लाख २ हजार ५ सय ८ रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।
बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट बबई पुल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहित १२ विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।
सबैसँग छुट्टाछुट्टै बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।
पप्पुसँगै डिभिजन सडक कार्यालय नेपालगन्जका तत्कालीन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव र निमित्त डिभिजन प्रमुख नवराज केसीलाई पनि अख्तियारले अभियोग लगाएको छ ।
इन्जिनियर प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट तथा सब इन्जिनियर कार्मा तेन्जिङ तामाङ, गोविन्द गैरे र एभरेस्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।
सरकारी अधिकारी पनि स्वतः निलम्बनमा परेका छन् ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS