काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले कुवेतका परराष्ट्रमन्त्री शेख जर्रह जाबेर अल अहमद अल सबाहसँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा पश्चिम एसिया क्षेत्रको पछिल्लो अवस्थाबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
वार्तामा मन्त्री शर्माले कुवेतको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेका थिए । साथै कुवेत सरकारले स्थिरता कायम राख्न तथा त्यहाँ रहेका सबै बासिन्दाको, विशेषगरी नेपाली समुदायको सुरक्षा सुनिश्चित गर्न गरेको प्रयासको प्रशंसा गरेका थिए ।
कुवेतका परराष्ट्रमन्त्री अल सबाहले युद्धले भू-क्षेत्रसम्बन्धी कानुन र संयुक्त राष्ट्रसंघको मानवीय कानुनको उल्लङ्घन गरेको बताए । उनले कुवेत सरकारले त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा गर्न प्रतिबद्ध रहेको पनि दोहोर्याए । साथै क्षेत्रीय तनाव संवादमार्फत शान्तिपूर्ण रूपमा समाधान हुने अपेक्षा व्यक्त गरे ।
दुवै पक्षले संयमता, संवाद र कूटनीतिक पहलमार्फत क्षेत्रीय शान्ति र स्थिरता कायम राख्नु आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरूले तनाव चाँडै घट्ने आशा पनि व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS