१५ फागुन, काठमाडौं-चारैतिर हरियाली जङ्गल, त्यसमाथि चराचुरूङ्गीको चिरबिर आवाज । त्यही आवाजलाई चिर्दै, हावामा पानीका फोहोरा उडाउँदै तल झर्छ ‘छहरा’ झरना ।
यस्तो सुन्दर दृश्यले कसको मन लोभिदैन र ? यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय यो झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गएको छ । हिजोआज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रकै मात्रै नभएर अहिले यहाँ रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेका छन् ।
कोरोनाको जोखिम घटेसँगै अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्दै गएको जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीय रोहित बोहरा बताउनुहुन्छ । ‘कोरोना कहर पनि घट्दै गएपछि अहिले झरनामा रमाउन दिनहुँ सयौँ पर्यटक आउन थालेका छन्’ उहाँले भन्नुभयो, ‘पर्यटक आउन थालेपछि पूरै छहरा क्षेत्र रमणीय बन्दै गएको छ ।’
छहरा अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयवासी आउन थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले जानकारी दिनुभयो ।
यस क्षेत्रमा पछिल्लो समय छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरिएपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन् । छहरा क्षेत्रमा रमाउनका लागि अहिले दैनिक सयौँ नागरिक आउने गरेको अर्का स्थानीय सिद्ध जेठाराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले पर्यटकलाई आकर्षित गराउन विभिन्न नयाँनयाँ काम तथा साहसिक खेलको पनि शुरुआत गरेकाले अहिले छहरा पर्यटकको प्रमुख आर्कषणको केन्द्र बन्न पुगेको ।
झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयवासीले झरना, प्याराग्लाइडिङ तथा क्यानोइङ गरेको तस्बीर सामाजिक सञ्जालमा पोष्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन् ।
विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले सामाजिक सञ्जालका कारण सबैको मुखमुखमा झुण्डिदै गएको बुडरका स्थानीयवासी लोकबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, “छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउने खेल पनि शुरु भएका छन्, यसको प्रचारप्रसारका लागि सबैले सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि पर्यटकको संख्या बढ्दै गएको हो ।”
नाम मात्रै सुनेका र झरनाको तस्वीर मात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका स्थानीयवासी बताउँछन् । जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन÷चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समितिले जनाएको छ । कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने तथा एक दुई दिन त्यही बसेर रमाइलो गरी फर्किने गरेको बताइएको छ ।
पर्यटक आउने तथा एक दुई दिन त्यहाँ बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटेल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटेल व्यवसायी विजय गाहामगरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाले यहाँका होटेल सुनसान थिए, छहरा झरना अवलोकन तथा भ्रमणका लागि आउने पर्यटकका कारण अहिले यहाँका होटेल व्यवसाय फस्टाएको छ ।’
छहरा क्षेत्रमा पर्यटक आउने क्रम बढे पनि अहिलेसम्म यस क्षेत्रमा पुग्न कालोपत्र सडक नहँुदा समस्या हुने गरेको छ । जोरायल गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था भने गरेको छ । कच्ची सडक र पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ ।
FACEBOOK COMMENTS