काठमाडौं, साउन २३ । ह्याङला दोलखा काठमाडौं तामाङ समाजले ‘शैलुङ र पर्यटन’ विषयक अन्तरक्रिया तथा ‘शैलुङ यात्रा’ नामक बृत्तचित्र प्रदर्शन गर्ने भएको छ । सय थुम्का रहेको शैलुङको पर्यटन विकासको लागि समाजले उक्त अन्तरक्रियात्मक कार्यक्रम गर्न लागेको हो ।
शैलुङमा पर्यटन विकास हुन नसकेको भन्दै तामाङ समाजले उक्त क्षेत्रमा पर्यटन प्रवद्धन कसरी गर्न सकिन्छ यस क्षेत्रमा जाने पर्यटकको सुविधाका लागि आगामी दिनमा के कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने उद्देश्यले यही साउन २५ गते शनिबार अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गर्ने भएको हो ।
उक्त बृत्तचित्रमा बुद्धको पाईला, १२ बर्षे मेला लाग्ने गुफा, महादेबको मन्दिर, त्यस क्षेत्रमा पाईने जडिबुटीहरु, १ सय ८ ओटा भन्दा बढी रहेका थुम्का, स्थानीय भेषभुसा र रहनसहनलगायतको रहेको छ । काठमाडौंं देखी १ सय ४० किलोमिटर पूर्वको दुरीमा पर्ने दोलखा र दोलखाको सदरमुकाम चरिकोटबाट करिब ५० किलोमिटर दक्षिणतर्फ पर्ने सय वटा थुम्का रहेको स्थान शैलुङमा विशेष गरी शेर्पा र तामाङ जातीको बाहुल्यता रहेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको शैलुङको विकास निर्माणमा कसरी जुटन सकिन्छ र सो क्षेत्रमा के के गर्न सकिन्छ भनेर समाजले विभिन्न राजनीतिक दल, पर्यटन ब्यवसायी, संघसंस्थालगायत सम्वन्धित निकायसँग तामाङ समाजले अन्तरक्रियात्मक कार्यक्रम गर्न लागेको हो ।
FACEBOOK COMMENTS