काठमाडौं, मंसिर २८ – खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७६ पुसको अन्तिममा आयोजना हुने भएको छ ।
कोरोना भाइरस कोभिड १९ का कारण यसपटक अवार्ड यसअघिको समय भन्दा निकै पछि हुन लागेको आयोजक नेपाल खेलकुद पत्रकार मन्चले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । विगतमा विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) को आसपासमा अवार्ड आयोजना हुने गर्दथ्यो ।
सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था रहेकोले मञ्चले पुस २८ गते अवार्ड भर्चुअल गर्ने तयारी गरेको छ । सातदोबाटोस्थित कराते हलमा अवार्ड हुने मञ्चले जानकारी दिएको छ । अवार्डलाई विगतमा जस्तै हंसराज हुलास चन्द एन्ड गोल्छाको पल्सरले मुख्य प्रायोजन गर्नेछ । पल्सरले मन्चलाई २८ लाख रुपैयाँ बराबर नगद र जिन्सी उपलब्ध गराउनेछ । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र हंसराज हुलास चन्द एन्ड गोल्छाका निर्देशक अभिमन्यु गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अघिल्लो वर्षझैं यसपटक पनि विभिन्न १० विधामा अवार्ड वितरण हुनेछ । जसमा वर्षका उत्कृष्ट खेलाडी युवा, महिला, पुरुष, वर्षका उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड, लाइभ टाइम एचिभमेन्ट अवार्ड, टिम अफ दि इएर , पिपल्स च्वाईस र एसियन जर्नालिस्ट अफ द इएर अवार्ड छन् ।
पिपल्स च्वाइस् अवार्ड, स्पेशल र लाइभ टाइम एचिभमेन्ट बाहेक सबै अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अवार्डका चार विद्यामा सम्मान गरिन्छ । पिपल्स च्वाइस एसएमएस भोटिङका आधारमा हुने हुनेछ ।
गत वर्ष नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्दा नेपाली खेलाडीले एतिहासिक प्रदर्शन गरेका थिए । जसमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदकका साथ २ सय ७ पदक जितेको थियो ।
पौडीकी गौरिका सिंह एक्लैले ४ स्वर्ण, तेक्वन्दोकी आयशा शाक्य, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान २ स्वर्ण पदक पदक जितेका थिए । यू २३ फुटबल टोलीले स्वर्ण पदक रक्षा गर्दा केहि खेलले पहिलो पटक स्वर्ण पदक जितेका थिए ।
स्वदेशमै दुई दशक आयोजना भएको आठौं सागमा जस्तै १३ औंमा पनि नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको थियो । यसपटकको अवार्डमा सागकै प्रदर्शनको वरिपरि घुम्ने निश्चित प्राय छ ।
FACEBOOK COMMENTS