काठमाडौँ, ८ पुस – केन्द्रीय कमिटीको दोस्रो बैठक हामीले गत माघ महिनाको दोस्रो र तेस्रो हप्तामा सम्पन्न गरेका थियौं । सबैलाई स्मरण होला, त्यो बैठक पार्टी एकता भएपछिको एउटा साँचो अर्थको अर्थपूर्ण, सार्थक र सामूहिक विवेकको प्रयोगद्वारा सही निष्कर्ष निकाल्ने मञ्चका रुपमा सफल भएको थियो । कमरेडहरुलाई लाग्यो कि अब पार्टी बन्ने भयो, त्यस्तो सन्देश दिएको थियो ।
आज ११ महिनापछि हामी केन्द्रीय समितिको यो तेस्रो बैठकमा उपस्थित छौं । तेस्रो बैठकमा आउँदा परिस्थिति नितान्त भिन्न भएको छ । दोस्रो बैठकजस्तो छैन अहिलेको अवस्था । आज पार्टीको एउटा पक्ष, समूह भनौं या एउटा गुटले नाम यही राखेर, तर अर्कै पार्टी दर्ता गर्न निर्वाचन आयोगमा गएको समाचार भर्खरै हामीले हेर्यौं ।
म उनीहरुलाई के भन्न चाहन्छु भने यो एकीकृत पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक हो । केन्द्रीय समितिको बैठक हुनका लागि आवश्यक पर्ने सबै वैधानिक र आधिकारिक अवयवहरु यो हलभित्र छ । म बडो प्रष्टसँग भन्न चाहन्छु र यो मञ्चबाट मेरो बोली बाहिर जाओस् भन्ने पनि चाहेको छु । बाहिरी दुनियाँले पनि सबै सम्बन्धित निकायले पनि राम्रोसँग सुनून् भन्ने पनि मेरो आधिकारिक धारणा छ । यो हलभित्र अहिले ६६ प्रतिशतभन्दा बढीको प्रतिनिधित्व गर्ने केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति छ । यो भनेको दुई तिहाइ बहुमतभन्दा बढी हो । मलाई भनिएअनुसार केही कमरेडहरु बाटोमा आउँदै हुनुहुन्छ, यही बैठकका लागि र केही कमरेडहरु आज नआए पनि भोलि आउँछौं भनेर यहाँ बस्दाबस्दै सूचना आएको छ । ती कमरेडहरुसँग पनि जोड्दा हामी ६७/६८ प्रतिशत सदस्यहरुको सहभागिता छ । त्यसकारण यो केन्द्रीय कमिटीको बैठक हो ।केपी ओलीले मूर्ख भएर मात्र गरे भनेर चुनाव हुन्छ होला भनेको ठान्नु ठूलो गल्ती हुन्छ । यसका पछाडि सम्पूर्ण चिज प्रतिगमनतिर लैजाने षड्यन्त्र अन्तरनिहीत छ ।
FACEBOOK COMMENTS