काठमाडौं, श्रावण ३२ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार ठूलो पहिरो खस्यो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि गरेको भौगर्भिक अध्ययनमा उक्त गाउँ ‘संरक्षण गर्नुपर्ने’ सूचीमा थियो। अति जोखिममा रहेर सार्नुपर्ने सूचीमा भने २ सय ९० बस्ती थिए। तीमध्ये जम्मा ५५ वटा मात्र सारिएका छन्। २ सय ३५ बस्ती अझै जोखिममै छन्।
प्राधिकरणका अनुसार कतिपय बस्तीका बासिन्दा आफैं अन्यत्र गएका छन्। कतिपयमा अति थोरै परिवार संख्यामा रहेका छन्। प्राधिकरणको पछिल्लो तथ्यांकले ५ सय १३ परिवार जोखिमपूर्ण स्थानमै बसिरहेको देखाउँछ। ४ सय ७८ परिवारले जोखिमपूर्ण बस्तीमा घर बनाएका छन्।
भूकम्पपछि प्राधिकरणले १ हजार १ सय ३ बस्तीको भौगर्भिक अध्ययन गरेको थियो। तीमध्ये आंशिक जोखिमयुक्त (संरक्षण गर्नुपर्ने)मा ३ सय २७ थियो। सिन्धुपाल्चोकको लिदी त्यही वर्गमा पथ्र्यो। ४ सय ८६ बस्ती सुरक्षित स्थानमा पाइएको थियो। अति जोखिममा रहेका २ सय ९० बस्तीका ४ हजार ६ सय ८९ परिवारलाई सार्नुपर्ने प्रतिवेदनले देखाएको थियो।
भूकम्पबाट सबैभन्दा क्षतिग्रस्त गोरखाको लाप्राकका बासिन्दा अझै जोखिममै छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गुन्सीपाखामा ५ सय ७३ घर बनाइदिएको छ। संघले चिटिक्क परेका घर बनाइदिए पनि शौचालय, गाईवस्तु राख्ने गोठ नबनाइदिएका कारण उनीहरू थातथलो छोड्न मानिरहेका छैनन्। स्थानीयसँग छलफल नगरी एनआरएनएले घर बनाएकामा त्यहाँ असमझदारी देखिएको छ। धेरैजसो परिवार पहिरोमुन्तिर नै बसिरहेका छन्।
रसुवाको तिरुगाउँलाई खाल्टेमा सार्ने भनिएको एकीकृत बस्ती राजनीतिक खिचातानीका कारण जोखिममै छ। भर्खरै जग्गा अधिग्रहणको काम सुरु भएको छ। त्यहाँका बासिन्दा पनि जोखिममै छन्। भूकम्पले थिलथिलो भएका बस्ती पहिरोको चपेटामा परिरहेका छन्।
-अन्नपूर्ण पोस्ट् दैनिक
FACEBOOK COMMENTS