धवलागिरि अस्पतालमा पहिलोपटक पेट चिरेर पाठेघरको सफल शल्यक्रिया गरिएको छ । दक्ष चिकित्सक र स्वास्थ्य उपकरणको उपलब्धता बढेसँगै अस्पतालले शल्यक्रियालगायत स्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै लगेको छ ।
पाठेघरबाट रगत बग्ने, तल्लो पेट दुख्नेलगायत समस्याबाट ग्रसित बागलुङ नगरपालिका–५ की ३६ वर्षीया महिलाको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.केशव आचार्य नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले शुक्रबार शल्यक्रिया गरेको हो ।
यसअघि पाठेघरको शल्यक्रियाका लागि बिरामीलाई ठूला अस्पताल पठाउनुपर्ने अवस्था थियो । अब त्यहीँ सहज रुपमा पाठेघरको उपचार हुने भएको छ । जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै हुन थालेपछि बिरामीलाई पोखरा, काठमाडौँ धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालले गत असोजमा पहिलोपटक जोर्नी प्रत्यारोपण गरेको थियो ।
पछिल्लो समय अस्पतालमा हाडजोर्नीको शल्यक्रिया धेरै हुने गरेको छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषित धवलागिरि अस्पताललाई सोही अनुसारको स्वास्थ्य सेवा र सुविधा थप्नुपर्ने चुनौती छ । अस्पतालले अझै पनि दरबन्दीअनुसार मानव संसाधन र स्वास्थ्य उपकरणको अभाव झेल्दै आएको छ ।
FACEBOOK COMMENTS