काठमाडौं, मंसिर १२- तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाललाई भारतीय जलमार्गको प्रयोग गर्न दिन तथा नेपालका थप दुई नाकामा बल्क कार्गो सुविधा दिन नेपाल र भारतबीच सहमति भएको छ ।
बुधवार काठमाडौंमा सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन सम्बन्धी प्राविधिक समितिको बैठकमा नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न जलमार्ग तथा बहुविधिक ढुवानी रूटहरू, ढुवानीका प्रक्रियाहरू, भन्सार सहजीकरण र नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका व्यवस्थाहरू नेपाल भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदा समावेश गर्न दुवै मुलुक सहमत भएका हुन् ।
तर, भारतका थप दुई बन्दरगाह धाम्रा र मुन्द्राको प्रयोग गर्ने बारेमा सहमति हुन सकेन । नेपाली पक्षले यसै बैठकमा भारतका थप दुई बन्दरगाह धाम्रा र मुन्द्राको प्रयोगका बारेमा भारतले सहमति दिने बताए भए पनि भारतीय पक्षले त्यसका लागि आन्तरिक छलफल भइरहेको र त्यसबारे आप्mनो सुझाव चाडै पठाउने मात्रै बतायो ।
बुधवारको सहमतिपछि तेस्रो मुलुकसँगको व्यापारमा नेपालले तीन भारतीय जलमार्ग, कोलकाता–साहेबगञ्ज, कोलकाता–कालुघाट र कलकत्ता–बनारस प्रयोग गर्न पाउनेछ ।
दुईदिने बैठकमा जलमार्ग प्रयोग र बल्क कार्गोका विषयमा ठोस सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा नेपाली टोलीका संयोजक नवराज ढकालले बताए । ‘यी व्यवस्था सन्धिमा हस्ताक्षर भएलगत्तै कार्यान्वयनमा आउनेछन्,’ उनले बताए । ‘जलपारवहन प्रणालीको सन्दर्भमा यो कोसेढुगां हो, जसले नेपाली झन्डा भएको पानीजहाज चलाउने नेपालको सपना पूरा गर्नेछ । साथै, ढुवानी खर्चमा कमी ल्याउनेछ ।’
ढकालका अनुसार जलपारवहनका बारेमा विस्तृत कार्यविधि नै तयार भएको छ । यसअघि भारतको राजधानी नयाँ दिल्लीमा भएको ‘नेपाल–भारत वाणिज्य बैठक’मा तीन भारतीय जलमार्ग प्रयोग सम्बन्धी सहमति भएको थियो । यसअनुसार गंगा जलमार्गमा नेपाली पानीजहाज चलाउनेसम्बन्धी लेटर अफ एक्सचेन्ज (एलओई)मा भारतीय पक्षले सहमति जनाइसके पनि आवश्यक मोडालिटी तयार भइसकेको थिएन । यस बैठकले पानीजहाज चलाउन आवश्यक पर्ने मोडालिटी समेत तयार पारेको नेपाली अधिकारीहरूले बताएका छन् ।
बैठकमा भारत नेपाललाई तेस्रो मुलुकसँगको व्यापारमा थप दुई नाकाबाट बल्क कार्गो सुविधा दिन सहमत भएको छ । यो सहमतिपछि तेस्रो मुलुकसँगको व्यापारलाई सहजीकरणका लागि थप दुई नाका, विराटनगर तथा भैरहवामा पनि वीरगञ्जमा झैं तेस्रो मुलुकको बल्क कार्गो सीधै रेलमार्गबाट ढुवानी हुनेछ । हाल बल्क कार्गोको सुविधा वीरगञ्जमा मात्रै उपलब्ध छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS